काठमाडौँ, माघ १२
नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’
(एलएसभी) पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ । अस्पतालमा २९ हप्तामा जन्मिएको
नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत उपचार गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै
हुने बताइएको छ ।
नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि
मेच्योरिटी’ (आरओपी)का कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने
नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ । विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहिआएको
जनाइएको छ ।
आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात
शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत गरिएको उपचारले आँखा उपचारमा
ऐतिहासिक सफलता पाएको हो । काठमाडौँ उपत्यकाभित्रकै एक अस्पतालबाट ‘रेफर’ भई आएको
ती शिशुको आँखाको गत
पुस १० मा शल्यक्रिया गरिएको थियो ।
सो जटिल शल्यक्रियामा नेतृत्व गरेकी चिकित्सक प्रिया बजगाईंले
भन्नुभयो, “२९ हप्तामा जन्मेको
शिशुको एलएसभी पद्धतिमार्फत शल्यक्रिया गरिएको नेपाल आँखा अस्पतालमा पहिलोपटक हो ।
बुधबार फलोअप उपचारका लागि शिशुलाई अस्पतालमा ल्याइएको थियो । मैले शिशुको दुवै आँखा परीक्षण गरेँ, आँखामा सुधार हुँदै गएको छ,
वृद्धिविकास हुँदै जाँदा समस्या न्यून हुँदै जाने देखिन्छ । तर फलोअप उपचार भने
गरिरहनुपर्छ ।”
उहाँकै नेतृत्वमा ती शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर
प्रविधिमार्फत उपचार गरिएको थियो । चिकित्सक बजगाईंले भन्नुभयो, “शिशुको दायाँ आँखाको लेजर प्रविधिबाट
उपचार सफल भएपछि यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको
हो, जुन सफल पनि भयो ।”
रेटिना विशेषज्ञ बजगाईंलाई शिशुको एलएसभी शल्यक्रिया गर्न करिब एक
घण्टाभन्दा बढी समय लागेको थियो । उहाँले भन्नुभयो, “यस्ता शल्यक्रिया सफल हुन अथवा असफल हुन पनि सक्छ । तर मैले ती
शिशुको आँखाको ज्योती जोगाउन अन्तिम पर्यत्न गरेँ जुन सफल भयो । यो मेरो जीवनका
लागि पनि खुसीको क्षण हो । चिकित्सक बजगाईंले
भन्नुभयो, “कम तौल, गर्भावस्था ३४ हप्ताभन्दा कम, जन्मँदा अक्सिजनको उतारचढावका कारण
अक्सिजन थेरापी दिइएको, शारीरिक, जन्डिस, पेटको समस्याले ती शिशुको दुवै आँखामा समस्या देखिएको रहेछ ।
गर्भावस्था ३४ हप्ता कम अथवा दुई किलोभन्दा कम वजन जन्मेका शिशुमा आरओपीका कारण
अन्धोपन हुने जोखिम हुन्छ ।” आँखा उपचार सेवामा छोटो समयमा अब्बल सेवा प्रदान
गरिरहनुभएका उहाँले प्रसूतीगृह थापाथलीमा जन्मेका नवजात शिशुको आँखा उपचार पनि
संलग्न हुनुहुन्छ ।
आँखा अस्पतालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले
ती शिशुको शल्यक्रियालगायत अन्य उपचारका लागि ‘एक एक पाइला फाउन्डेसन’बाट शोधभर्ना
हुनेगरी अभिभावकसँग शुल्क
कुनै नलिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाएको नीतिअनुसार हामी आँखा उपचार
सेवालाई अब्बल बनाउने अभियानमा लागिरहेका छौँ । आगामी दिनमा अस्पतालको सेवालाई अझ
विस्तार गर्दै जाने नीति लिएका छौँ ।”
अस्पतालका मेडिकल रेकर्ड अधिकृत सन्तोष पौडेलका अनुसार अस्पतालले
गत वर्ष सेवा पुर्याएका एक लाख ५७ हजार बिरामीमध्ये ३४ हप्ता मुनिका तीन सय शिशु
रहेका थिए । तीमध्ये ३६
शिशुको ‘लेजर अभास्टिन इञ्जेक्सन’मार्फत आँखाको उपचार गरिएको थियो ।