बाजुरा- जिल्लाको विकट पहाडी बस्ती अम्लिस र वरपरका गाउँहरू पनि फोरजी मोबाइल सेवाबाट जोडिएका छन्। गौमुल गाउँपालिका वडा नं. १ अन्तर्गत अम्लिस, अन्द्राडी, माडी, दुर्गाली, साथै वडा नं. २ का केही गाउँहरूमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको हो।
थुप डाँडामा नयाँ टेलिकम टावर निर्माणसँगै आवश्यक उपकरण, सौर्य प्यानल, ब्याट्री र विद्युत आपूर्ति प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको हो।
स्थानीय जनक बोहराका अनुसार, 'फोरजी सेवा आएपछि फोन र इन्टरनेट प्रयोग गर्न निकै सजिलो भएको छ। अब आफ्ना आफन्तसँग सम्पर्क गर्न पहिलाजस्तो गाह्रो छैन।'
गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले सेवा विस्तारमा भौगोलिक कठिनाई र प्राविधिक चुनौतीका कारण केही ढिलाइ भएको स्वीकार गरे। तर उनले अहिले फोरजी सेवा सञ्चालन भएसँगै स्थानीयले सञ्चार सुविधा सहज रूपमा पाउन थालेको बताए। उनका अनुसार बाँकी टोलहरूमा पनि सेवा विस्तारको तयारी भइरहेको छ।
यसअघि सामान्य इन्टरनेट वा फोन सेवा लिन पनि सदरमुकाम मार्तडीसम्म जानुपर्ने बाध्यता थियो। अब भने अनलाइन कक्षा, सामाजिक सञ्जाल, सरकारी सेवा वा अन्य इन्टरनेटमा आधारित काम घरबाटै गर्न सकिने भएको छ।
टावरमा अन्द्राडी लघुजलविद्युत आयोजनाबाट नियमित विद्युत आपूर्ति भइरहेको छ, जसले सेवा सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेको छ। अहिले वडा नं. १ का धेरै गाउँबस्ती तथा वडा नं. २ का केही भागहरूमा २४ घण्टा नियमित रूपमा मोबाइल नेटवर्क तथा फोरजी सेवा उपलब्ध हुन थालेको छ।
स्थानीयस्तरमै प्रविधि पहुँच पुग्न थालेपछि जनजीवनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।