काठमाण्डाैँ , माघ १२
नेपाली कांग्रेसले छ हजार सात सय ४३ वटै वडासम्म पुगेर नागरिकका कुरा
सुन्न ‘समुदायमा कांग्रेस अभियान’ सञ्चालन गर्ने भएको छ ।
माघ १६ अर्थात् शहीद दिवसदेखि पूर्वप्रधानमन्त्री सुशील
कोइरालाको स्मृति दिवस अर्थात् माघ २६ गतेसम्म सञ्चालन हुने अभियानका लागि
कांग्रेसका पदाधिकारी सात प्रदेशमा खटिएका छन् । सदस्यहरूलाई ७७ जिल्लामा
प्रतिनिधि तोकिएको छ ।
यो समुदायसँग
अन्तरसंवाद गर्ने, गुनासा सुन्ने र सुझाव सङ्कलन
गर्ने अभियान भएकाले औपचारिक कार्यक्रम, आसन ग्रहण र नेताले भाषण गर्ने कार्यक्रम नगर्न भनिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन
विश्वकर्माले जानकारी दिनुभयो ।
जिल्ला खटिएका प्रतिनिधिले जिल्लामा पुगेर जिल्ला कार्यसमितिको विस्तारित
बैठक गर्ने कार्यसूची छ । अभियानका क्रममा तीनै तहका सरकारसँगका नागरिकका अपेक्षा, सुझाव र गुनासा सङ्कलन गरिने
प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो । अभियानका क्रममा वृक्षरोपण, सम्पदा सरसफाइ, नदीनाला सरसफाइ, शिक्षा शिविर, स्वास्थ्य शिविर, रक्तदान, श्रमदान वा स्वास्थ्यसँग सम्बन्धित
कुनै न कुनै कार्यक्रम तय गरी कार्यक्रम गर्न कांग्रेसको परिपत्र छ ।
यसैबीच समुदायमा कांग्रेस अभियान चलिरहेकै बेला कांग्रेस
महामन्त्री गगन थापाले मेची–महाकाली संवाद यात्रा गर्नुहुने भएको छ । नागरिकका
गुनासा र सुझाव सुन्न तथा पार्टीका कार्यकर्तासँग साक्षात्कार गर्न महामन्त्री
थापाले पूर्व मेचीदेखि पश्चिमको महाकालीसम्म यात्रा गर्न लाग्नुभएको हो ।
औपचारिक कार्यक्रम नगरिकनै हुलाकी राजमार्ग वरपर भएर यात्रा गर्ने थापाको
भनाइ छ ।