कञ्चनपुर कात्तिक १३ : विश्वमै दुर्लभ बाह्रसिङ्गेको झुण्ड देख्न पाइने कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दसैँ तिहार लगायतका चाडपर्वमा अवलोकन भ्रमणका लागि आउने पर्यटकको सङ्ख्या वृद्धि हँुदै गएको छ ।
हरेक वर्ष वर्षाका केही महिना बन्द रहने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कात्तिक महिना सुरु भएसँगै आन्तरिक पर्यटक आउने क्रम बढ्दै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका निमित्त कार्यालय प्रमुख प्रमोद यादवले कात्तिक महिनाको १२ गते आइतबारसम्म मात्रै शुक्लाफाँटामा चार सय १४ पर्यटकले अवलोकन भ्रमण गरेको जानकारी दिनुभयो । शुक्लाफाँटामा वन्यजन्तु हेर्न फागुनदेखि जेठसम्म उपयुक्त समय भए पनि यहाँ असोज देखि नै पर्यटक आगमन सुरु हुन्छ । तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गे, ३६ वटा पाटे बाघ, १७ भन्दा बढी गैँडा, चार सय ५० प्रजातिभन्दा बढीका चराचुरुङ्गीको बासस्थान हो । साथै मुलुककै ठूलो घाँसे मैदानमा देखिने बाह्रसिङ्गेको झुण्ड यहाँको प्रमुख आकर्षण हो ।