नारायणी अस्पतालमा बिहानै आगलागी, दुई घण्टामा नियन्त्रणमा

Jhalkonepal

वीरगन्ज- वीरगन्जस्थित नारायणी अस्पतालको बाल सघन उपचार कक्ष (एनआईसियु) नजिकको स्टोर रुममा आज बिहान आगलागी भएको छ। आगलागी बिहान ४ बजे सुरु भएको अस्पताल प्रशासनले जनाएको छ।

विद्युत् सर्टसर्किटका कारण आगलागी भएको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए। उनका अनुसार स्टोरमा रहेको विद्युत् बोर्डमा समस्या आएपछि आगो लागेको हो।

आगलागी सुरु भएलगत्तै अस्पतालका कर्मचारी, सुरक्षाकर्मी र वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो। आगो नियन्त्रणमा आउन करिब दुई घण्टा लागेको डा। सिंहले बताए।

आगलागीबाट कुनै मानवीय क्षति नभएको पुष्टि गरिएको छ। तर, स्टोरमा रहेका केही अस्पताल उपकरणहरू जलेर नष्ट भएको जनाइएको छ। 

अस्पतालका कर्मचारीहरूका अनुसार पुराना विद्युत् तारमा अत्यधिक लोड परेकाले सर्टसर्किट भएको हुन सक्ने आशंका गरिएको छ।

नारायणी अस्पताल मधेस प्रदेशका विभिन्न जिल्ला र सिमावर्ती भारतीय क्षेत्रका निम्न आय भएका बिरामीहरूका लागि प्रमुख उपचार केन्द्रका रूपमा सञ्चालनमा रहेको छ। हाल दैनिक १,२०० भन्दा बढी बिरामीले सो अस्पतालमा सेवा लिइरहेका छन्।

प्रतिक्रिया