काठमाडौँ,कार्तिक १५
नेपालीको दोस्रो ठूलो चाड
तिहारको तेस्रो दिन आज कुकुर पूजा र लक्ष्मी पूजा गरिँदै छ । कुकुर तिहार यमपञ्चक
अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण
तेस्रो दिन पर्न गएको हो । त्यसैले आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा
गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
पञ्चाङ्ग निर्णायक विकास समितिका
अनुसार २२ घडी २७ पला अर्थात् दिउँसो ३ बजेर १३ मिनेटसम्म चतुर्दशी तिथि छ।
त्यसपछि औँसी लाग्छ। ‘लक्ष्मीपूजा औँसीको साँझ वा रात्रिमा गर्ने विधान भएकाले
आइतबार नै लक्ष्मीपूजा परेको हो’, समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले भने, ‘बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा
गर्नुपर्छ।’
उनका अनुसार शुक्रबार साँझ औँसी पूरा भई सक्छ।
त्यो दिन औँसी तिथि २७ घडी ३० पला अर्थात् अपराह्न ५ बजेर १५ मिनेटसम्म रहेको उनले
बताए।