काठमाण्डौं, बैशाख २
‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ, नयाँ शैक्षिक सत्र २०८१ को विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रुपमा विद्यालय पठाउन आह्वान गरेका छन् ।सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको भन्दै उनले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामर्थ्यले भ्याएसम्म लगानी गर्दै आएको बताएका छन् । यी प्रयासहरुलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुने अपेक्षा प्रधानमन्त्रीले गरेका छन् ।
गत शैक्षिक सत्रदेखि नै विद्यालय भर्ना हुने तर रित्तो हात फर्किनुपर्ने अवस्थाको अन्त्य गर्न सफल भएका भन्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेको जानकारी गराएका छन् । यो महत्वपूर्ण प्रबन्धका निम्ति उनले नेपाल सरकारको तर्फबाट सबैमा धन्यवाद व्यक्त गरेका छन् ।