काठमाडाैं , साउन २४
काभा महिला भलिबल लिगको उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई काठमाडाै महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहितका जनप्रतिनिधिले खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र थेरापिस्टलाई जनही ५० हजार रुपैयाँ नगदसहित आज सम्मान गरेको हो । महानगरपालिकाले नेपाली टोलीका खेलाडी, प्रशिक्षक, टिम म्यानेजर र थेरापिस्टलाई प्रोत्साहन गर्न नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।
सम्मान प्राप्त गर्ने खेलाडीहरूमा कप्तान अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । खेलको टिम म्यानेजर नीलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्ट, सहायक प्रशिक्षक भरत यादव र थेरापिस्ट लोकेन्द्रबहादुर कुँवर पनि सम्मानित भएका छन् ।