साढे ५ लाखले उपत्यका छाडेपछि सुनसान बन्दै

Jhalkonepal

काठमाडौं- महान चाड दशैंको मुख्य दिन—टीका नजिकिँदै गर्दा काठमाडौं दिन प्रतिदिन सुनसान बन्दै गएको छ। घटस्थापनादेखि हालसम्म करिब साढे पाँच लाख मानिसहरूले काठमाडौं उपत्यका छाडिसकेका छन्।

आज बिहान ६ बजेसम्मको अवधिमा ५ लाख ५३ हजार २ सय ६१ जनाले उपत्यका छाडेका नेपाल प्रहरीको पछिल्लो विवरणले देखाएको छ । यात्रुहरू मुख्यतः निजगढ, हेटौंडा, नारायणगढ, पोखरा, धरान, बुटवल, धनगढीलगायत देशका विभिन्न भागतर्फ गइरहेका छन्।

ट्राफिक प्रहरीका अनुसार, हिजो बिहान ६ बजेदेखि आज बिहान ६ बजेसम्म मात्रै ८५ हजार २ सय ८४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्। सोही अवधिमा १७ हजार २ वटा सवारी साधन काठमाडौं बाहिरिएको ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

उनका अनुसार यात्रु संख्या अझै बढ्ने अनुमान गरिएको छ, विशेष गरी टीका अघिका दुई दिनहरूमा यात्रुहरूको चाप उच्च हुने देखिन्छ। उपत्यकाका मुख्य नाकाहरू—कलंकी, कोटेश्वर, नागढुंगा, जगाती लगायतका स्थानहरूमा ट्राफिकको चाप व्यवस्थापन गर्न विशेष टोली परिचालन गरिएको छ।

प्रतिक्रिया