त्रिकोणात्मक टि२०आई सिरिजः पिएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

Jhalkonepal

काठमाडौं , फागुन २९

नेपाल हङकङमा जारी त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । ओपनर कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि भिडन्तमा स्थान पक्का गर्न सफल भएको हो ।

नेपालले प्रस्तुत गरेको १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा पिएनजीले १७ औं ओभरमा अलआउट हुनुअघि १ सय १७ रन मात्र जोड्न सक्यो । मध्यक्रममा हिरी हिरीले २८ तथा ओपनर टोनी उराले १३ र सेसे बाउले २१ रन जोड्नुबाहेक अन्य ब्याटरले खासै चल्न सकेनन् ।

कुशल भुर्तेलले ४ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । त्यसअघि पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे । नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन जोड्यो ।

पहिलो विकेटका लागि कुशल र विनोद भण्डारीले ६४ रनको साझेदारी गरे । आठौं ओभरमा विनोद जोन कारिकोको शिकार बने । क्याचआउट हुनुअघि उनले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए ।

लगत्तै अर्को ओभरमा कप्तान रोहित मात्र १ रन जोड्दै कट बिहाइन्ड भए । नवौं ओभरमा आरिफ शेख पनि ७ बलमा ४ रन जोड्दै विकेटकिपरबाट समातिए ।

त्यसपछि कुशल र सन्दीप जोराले ३० बलमा ५० रनको आक्रामक साझेदारी गरे कुशल आउट भएपछि सन्दीप जोराले आक्रमण सम्हाले । उनले मात्र २१ बलमा आफ्नो दोस्रो टि२०आई अर्धशतक पूरा गरे । सन्दीपले २६ बलमा ५६ रन जोडे । उनले ३ चौका र ३ छक्का प्रहार गरे ।

लोकेश बम ६ बलमा २ छक्कासहित १४ रन जोड्दै १९ औं ओभरको अन्तिम बलमा रनआउट भए ।

अन्तिम ओभरमा विवेक यादवले ३ छक्का प्रहार गरेपछि नेपाल बलियो स्कोरसम्म पुग्यो । उनी ४ बलमा १९ रन जोड्दै नटआउट रहे । गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए ।

पिएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १-१ विकेट लिए ।

यस जितले नेपालको २ खेलमा ३ अंक भएको छ । हङकङको १ खेलमा १ तथा पिएनजी अंकविहिन छ ।

आज हुने अन्तिम खेलमा पिएनजी र हङकङ खेल्नेछन् । उक्त खेलको विजेताले बुधबार हुने फाइनलमा नेपालसँग खेल्नेछ  ।

प्रतिक्रिया