काठमाडौँ,९ साउन
एसिसी महिला एसिया कप
२०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ ।
श्रीलङ्काको
दाम्बुलामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपाल भारतसँग ८२
रनले पराजित भएको हो । यो जीतसँगै भारत प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ
भने हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि दुई खेल खेलेको नेपालले एक
खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको थियो । नेपालले युएईलाई ६ विकेटले हराउँदा
पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो ।
आजको खेलमा भारतले
नेपाललाई जीतका लागि एक सय ७९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल निर्धारित २०
ओभरमा ९ विकेट गुमाउँदै ९६ रनमा समेटियो ।
नेपालका लागि सीता
रानामगरले सर्वाधिक १८ रनको योगदान दिइन् । त्यस्तै विन्दु रावलले १७ रन जोड्दा
रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दु वर्माले १४ रन जोडिन् । त्यसबाहेक अन्य
खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
भारतका लागि
दिप्ती शर्माले ३ विकेट लिइन भने अरुणदति रेडि र राधा यादवले समान दुई दुई विकेट
लिए । यस्तै रेनुका सिंहले एक विकेट लिइन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको
भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल बनाएको थियो ।
भारतका लागि ओपनर शफाली वर्माले सर्वाधिक ८१ रनको योगदान दिइन् । उनले ४८ बलमा १२
चौका र १ छक्कासहित ८१ रन बनाएकी हुन् । त्यस्तै अर्की ओपनर दयालन हेमालथाले ४२
बलमा ५ चौका र १ छक्कासहित ४७ रन जोडिन् । जेमिमाह रोड्रिगेजले २८ रन बनाउँदा
सजीवन सजनाले १० तथा ऋचा घोषले ६ रन जोडिन् । नेपालका लागि सीता रानामगरले दुई
विकेट लिइन् भने कविता जोशीले एक विकेट लिइन् ।