प्रधानमन्त्री कार्कीले यस वर्ष टीका–जमरा नलगाउने, कारण यस्तो

Jhalkonepal

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादसैंमा टीका र जमरा नलगाउने निर्णय गरेको जानकारी गराएकी छन्। हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा भएका दुस्खद घटनाहरू र थुप्रै युवाहरूले ज्यान गुमाएको पीडालाई मध्यनजर गर्दै प्रधानमन्त्रीले आफू व्यक्तिगत रूपमा दसैंको औपचारिकता नमनाउने बताएकी हुन्।

प्रधानमन्त्री कार्कीले एक सन्देश जारी गर्दै भनिन्, 'हरेक वर्ष दसैं हर्षोल्लासका साथ मनाउने गरिन्छ। तर, यसपालि हामीले भोगेको युवा आन्दोलनको पीडा अझै ताजा छ। धेरै युवाहरूले आफ्नो अमूल्य जीवन गुमाए। यस्तो संवेदनशील अवस्थामा व्यक्तिगत तथा सरकारी रूपमा टीका लगाउने कुनै विशेष कार्यक्रम आयोजना नहुने जानकारी गराउन चाहन्छु।'

उनले थप भनिन् कि वर्तमान सरकार यही ऐतिहासिक आन्दोलनको जगमा गठन भएको हो। सरकारले तोकिएको मितिमा स्वतन्त्र र निष्पक्ष प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने दृढता लिएको छ र सुशासन तथा स्थायित्वका लागि प्रतिवद्ध छ।

प्रधानमन्त्री कार्कीले सम्पूर्ण देशवासीहरूलाई दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै मुलुकमा शान्ति, समृद्धि र विकासको मार्गमा सबै एकजुट भई अघि बढ्न आग्रह गरेकी छन्।

त्यसैगरी, उनले देश(विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई बडादसैं २०८२ को पावन अवसरमा शुभकामना पनि व्यक्त गरेकी छन्।

प्रतिक्रिया