काठमाडाैं , फागुन १०
इसराइली सञ्चारमाध्यमहरूका अनुसार हमासले आज ६ जनालाई बन्धकमुक्त गर्दैछ। शनिबार बन्धकमुक्त हुने ६ जनाको सूची शुक्रबार नै हमासले इसराइललाई पठाइसकेको छ।
३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ छन्।
उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै हमासको नियन्त्रणमा रहेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ।
त्यतिबेला उनीहरू समुद्र तटबाट गजा प्रवेश गर्दा हमासले नियन्त्रणमा लिएको थियो।
बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इसराइलमाथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पुर्याएको थियो।
उनीहरूलाई हमासले सुपरनोभा फेस्टिबलबाट अपहरण गरेको थियो। चारै जना एउटै परिवारका रहेको पनि बताइएको छ।
हमासले ६ जना बन्धक छाडेको बदलामा इसराइलले ६०२ जना प्यालेस्टिनी कैदीहरूलाई जेलमुक्त गर्नेछ।
हमासले यसअघि २६ जना बन्धक छाडिसकेको छ भने इसराइलले १०९९ जना प्यालेस्टिनी कैदीलाई जेलमुक्त गरेको छ।