सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् ।
सुदूरपश्चिम प्रदेशसभाको बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री शाहले बदलिएको राजनीतिक समीकरणपछि आफूले पदबाट राजीनामा दिएको घोषणा गरे ।
यसअघि गत असार ३१ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएकामा संवैधानिक व्यवस्थाअनुसार आज अन्तिम दिन विश्वासको मत लिन बोलाएको बैठकमा उनले राजीनामा घोषणा गरेका हुन् ।
केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेश सभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै सहमति भइसकेको छ । त्रिपन्न सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज देखिएको छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक प्रदेशसभा सदस्य रहेका छन् ।