कास्की, असार २७
स्वास्थ्य तथा मानवीय सेवाका क्षेत्रमा
ख्यातिप्राप्त नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई यस वर्षको ‘श्रीपति समाजसेवा
राष्ट्रिय पुरस्कार’ प्रदान गरिने भएको छ ।
पोखरा महानगरपालिका–९
महेन्द्रपुलस्थित श्रीपति कोइराला गुठीले स्थापना गरेको सो पुरस्कार दुई सय १७ औँ
श्रीपति जयन्तीका अवसरमा रुइतलाई प्रदान गर्ने घोषणा गरिएको हो । वि.सं २०७७ देखि
सुरु गरिएको यस पुरस्कारको राशि रु दुई लाख २२ हजार दुई सय २२, श्रीपति समाजसेवा
पदक र ताम्रपत्र रहेको छ । देश र जनताका लागि विपद्मा उद्धार तथा
राहत सहयोग, शिक्षा, संस्कृति, स्वास्थ्य सेवा, विज्ञान प्रविधि, सामाजिक जागरण, मानवीय सेवा र सामुदायिक विकासको क्षेत्रमा क्रियाशील व्यक्तित्व
तथा संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको श्रीपति कोइराला गुठीका सचिव नवराज
कोइरालाले जानकारी दिनुभयो । “मानवीय सेवाका क्षेत्रमा र विशेषगरी आँखा उपचारमा डा रुइतले
गर्नुभएको योगदानको कदर गर्दै यस वर्षको पुरस्कार उहाँलाई प्रदान गर्ने निर्णय
गुठीले गरेको हो”, कोइरालाले भन्नुभयो । । गुठीले आगामी साधारणसभामा डा सन्दुकलाई
पुरस्कार प्रदान गरिने जनाएको छ । यसअघि यस पुरस्कारबाट माइती नेपाल, राष्ट्रिय आविष्कार
केन्द्र, सर्लाहीको पद्मम भवानी नमुना विद्याश्रम र पोखराको विन्ध्यवासिनी
धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन् ।