हैजा संक्रमणको जोखिमबीच वीरगंज महानगर प्रमुखको निर्देशनः संयमित रहन र सेवा प्रभावकारी बनाउन आग्रह

Jhalkonepal

वीरगंज- हैजाको संक्रमण फैलिने खतरा बढ्दै गइरहेका बेला वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सम्पूर्ण कर्मचारीलाई संयमित, सतर्क र जिम्मेवार भएर काम गर्न निर्देशन दिएका छन्।

प्रमुख सिंहले हालको अवस्था चिन्ताजनक नभएको बताउँदै स्थिति नियन्त्रणमा राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। “अहिलेसम्म गम्भीर अवस्था आएको छैन,” उनले भने, “महानगर हैजा नियन्त्रणतर्फ नै केन्द्रित छ र आवश्यक सबै तयारीहरू भइरहेका छन्।”

सिंहले वीरगंजका सबै अस्पताललाई कुनै ढिलाइ नगरी उपचार प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जानकारी पनि दिए। उनका अनुसार बिरामी देखिनेबित्तिकै तत्काल उपचार सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरूलाई आवश्यक व्यवस्था मिलाउन भनिएको छ।

यसैबीच, महानगरले हैजाबाट प्रभावित क्षेत्रहरूमा विशेष स्वास्थ्य टोली खटाइसकेको छ। ती टोलीहरूले घर–घरमै गएर अवस्था बुझ्ने, संभावित संक्रमितहरू पहिचान गर्ने, परामर्श दिने र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्यमा सक्रियता देखाइरहेका छन्।

महानगर प्रमुखले नागरिकहरूलाई सधैं उमालिएको वा फिल्टर गरिएको सफा पानी पिउन, तरकारी तथा खाद्यपदार्थ राम्ररी पखालेर पकाएर मात्र सेवन गर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्।

प्रतिक्रिया