कर्णाली, असार ३२
जिल्ला प्रहरी कार्यालय सुर्खेतले हालसम्मकै ठूलो परिमाणमा अफिम र नक्कली नोट बरामद गरेको छ ।
बरामद गरिएको अफिम र नक्कली नोटसहित पक्राउ परेका पाँच जनालाई मंगलबार सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा पत्रकार भेटघाट कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत शान्ति टोल सुर्खेतमा कोठा भाडामा बस्दै आएकी कुशे गाउँपालिका–५ जाजरकोटका २२ वर्षीया दिलमाया सिंह ठकुरी, उनका दाजु ३३ वर्षीय रामबहादुर सिंह, भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत ठकुरीटोल बस्दै आएका कुसे गाउँपालिका–७ गमौडीका ३५ वर्षीय कृष्णबहादुर वली त्यसैगरी, भेरीगङ्गा नगरपालिका–१२ सुर्खेत बस्ने ३८ वर्षीय प्रेमबहादुर विक र नरहरिनाथ गाउँपालिका–४ कालीकोट स्थायी घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ न्यूरोडस्थित जनगर्जन मिडिया प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका मनबहादुर सहकारीसमेत रहेको उहाँले बताउनुभयो ।
प्रहरी उपरीक्षक शाहीका अनुसार उनीहरूबाट सुर्खेत प्रहरीले १३ लाख रुपैयाँ नक्कली नोट र करिब ९० लाख रुपैयाँ बराबरको अफिम बरामद भएको छ । त्यससँगै क्यानन प्रिन्टर, हाइटेक लेखिएको सिपियु, जिलियन टेक लेखिएको मोनिटर, कि–बोर्ड, माउस, कार्डडिटर, चिप्स मेमोरी र क्यानन क्यामेरासमेत एक/एक थान फेला पारी बरामद गरिएको उहाँले जनाउनुभयो ।
पक्राउ परेकामाथि लागुऔषध तथा जाली नोट कारोबार उद्योगमा मुद्दा चलाउने तयारी भइरहेको बताउँदै प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाले करिब दुई लाख रुपैयाँ सक्कली नोटसँग नक्कली नोट साटिसकेकाले लेनदेन गर्दा सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ ।