बीपी राजमार्ग पुन: अवरुद्ध , बीपी राजमार्ग भएर यात्रा नगर्न अनुरोध

Jhalkonepal

काठमाडौँ , असोज २५

बीपी राजमार्ग पुनअवरुद्ध भएको छ । शुक्रबार दिउँसोबाट बीपी राजमार्गमा सवारी साधन सञ्चालन गर्न तयारी भइरहँदा आज बिहान काभ्रेको रोसी गाउँपालिका ११ पिप्लेमा सुख्खा पहिरो खसेपछि यो सडक अहिले फेरि पूर्णरुपमा अवरुद्ध बनेको छ । 

आज बिहान रोसी गाउँपालिका ११ पिप्ले भन्ने ठाउँ (मंगलटार नजिकै) एक्कासी सुख्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि अवरुद्ध बनेको हो।

पहिरोमा दुईवटा सवारी साधन पनि पुरिएका छन्। तरसवारी साधन पुरिए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काले जानकारी दिइन्। 

सिन्धुलीटबाट काठमाडौँ तर्फ आउँदै गरेको बा ४ ख ४३५२ नम्बरको बसलाई पहिरोले रोसी खोलामा खसालेको छ भने खोटाङबाट काठमाण्डौँतर्फ आउँदै  गरेको ना १ ज। ६८१७ नम्बरको सुमोलाई पहिरोले पुरेको छ।

घटनामा मानवीय क्षति नभए पनि सडक पूर्णरुपमा अवरुद्ध बनेको छअहिलेसम्म पुरिएका गाडिसमेत निकाल्न सकिएको छैन। माथिबाट पहिरो झरिरहेको छ।’ 

घटनामा चालक र सहचालकले भागेर ज्यान जोगाएका छन्। दुई साताअघिको बाढीपहिरोले मंगलटारतिर अलपत्र परेका गाडि मर्मतको लागि भकुन्डे बेँसीतर्फ आउँदै गर्दा बस पहिरोमा परेको एसपी खड्काको भनाई छ। 

बीपी राजमार्गमा आजबाट गाडी चलाउने भनेर सडक विभागले तयारी अन्तिम चरणमा पुर्याएको अवस्थामा फेरि हिलो खसेको हो। 

प्रकृतिसँग मान्छेको केही लाग्ने रहेनछ, एसपी खड्काले भनिन्, ‘नसोचेको ठाउँमा माथिबाट सुख्खा पहिरो खस्यो। हिजो साँझसम्ममा बीपी राजमार्गलाई अस्थायी सडक बनाएर जोडिएको थियो। आज बिहान एक्कासी पहिरो खसिदियो।’ 

पहिरो खसेपछि काभ्रे र सिन्धुली प्रहरीले बीपी राजमार्ग भएर यात्रा नगर्न अनुरोध गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले पनि बीपी राजमार्ग भएर काठमाडौँको यात्रा नगर्न चालक र यात्रुलाई आग्रह गरिएको बताए। 

 

 

 

प्रतिक्रिया