काठमाडौं- गत भदौ २४ गते जेन९जी आन्दोलनको क्रममा देशभरका कारागार र सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म ८ हजार ५४ जना पुनः नियन्त्रणमा आएका छन्।
कारागार व्यवस्थापन विभागका अनुसार, फर्किएकामध्ये ७ हजार ७१३ जना कारागार र ३४१ जना सुधारगृहबाट भागेका थिए। तीमध्ये केही आफैं फर्किएका हुन् भने केहीलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन्।
हाल पनि ६ हजार ४९४ जना कैदीबन्दी फरार रहेका छन्। तीमध्ये ५ हजार ८७२ जना कारागार र ६२२ जना सुधारगृहबाट भागेका हुन्। उनीहरूको खोजी जारी रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले जानकारी दिए।
भागेकामध्ये १० जनाको मृत्यु भइसकेको छ। आन्दोलनअघि देशभर ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना मात्र कारागार तथा सुधारगृहमा रहेका छन्।
९ असोज २०८२, शुक्रबार ११:४४ मा प्रकाशित