चितवन- चितवनमा हालै विभिन्न देश र जिल्लाबाट फर्किएका ६ जनामा औलो रोगको सङ्क्रमण देखिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको साउनयता उनीहरूमा यो सङ्क्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये तीन जना भरतपुर महानगरपालिका, दुई जना खैरहनी नगरपालिका र एक जना राप्ती नगरपालिकाका बासिन्दा रहेका छन्। उनीहरूको उमेर ३४ देखि ४४ वर्षको बीचमा छ।
जनस्वास्थ्य कार्यालयका प्रमुख डा। दिनेश रुपाखेतीका अनुसार संक्रमितमध्ये चार जना भारतबाट, एक जना दक्षिण कोरियाबाट र एक जना सुनसरीबाट चितवन फर्किएका थिए।
उनका अनुसार विगत चार वर्षदेखि जिल्लाभित्रै बसोबास गर्ने व्यक्तिमा औलो रोग देखिएको थिएन। यसपटक भेटिएका सबै संक्रमित बाह्य मुलुक वा जिल्लाबाट फर्किएका हुन्।
गत आर्थिक वर्षमा चितवनमा १० जनामा औलो सङ्क्रमण देखिएको थियो।
औलो रोग पोथी एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट सर्छ। रोग लागेमा उच्च ज्वरो, टाउको दुखाइ, जिउ गल्ने, र अत्यधिक थकान जस्ता लक्षण देखिने गर्छन्। समयमै उपचार नभए यो रोग जटिल अवस्थामा जान सक्ने स्वास्थ्य विशेषज्ञहरू बताउँछन्।
स्वास्थ्य कार्यालयले विदेश वा औलो जोखिमयुक्त क्षेत्रबाट फर्किएका नागरिकमा लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ।