काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवाको स्वास्थ्य उपचार चलिरहेकै बेला नेतृत्व परिवर्तनको बहस उठाउनु नैतिक दृष्टिले अनुचित भएको बताएका छन्।
आइतबार आफ्नो निवासको अवलोकन गर्न गएका महतले सभापतिमाथि आक्रमण भएको संवेदनशील परिस्थितिमा समेत कतिपय नेताहरूले नेतृत्व परिवर्तनको कुरा उठाउनु खेदजनक भएको टिप्पणी गरे। उनले यस्तो अवस्था आउनु नै विडम्बनापूर्ण भएको बताए।
'सभापतिजी २३ गते आउनुभन्दा केही दिन अघि सम्म पनि सबैका लागि ठिक मानिनु भएको व्यक्ति, सबैभन्दा नजिकका साथीहरू आज प्रश्न उठाइरहनु भएको छ,'उनले भने। 'के हामी अभिभावक उपचारमै हुँदा केही समय पर्खन सक्दैनौं?'
डा. महतले हाल नेतृत्व परिवर्तनको चर्चा गरिरहेका नेताहरूमध्ये धेरैजसो विगतमा सभापति देउवाको निकट सहयोगी भएको पनि स्मरण गराए। उनले यस्ता नेताहरूको बोली, व्यवहार र निर्णयहरू हेर्दा उनीहरू नै देउवाका नजिक थिए भन्ने देखिने बताए।
उनका अनुसार पार्टीभित्र देखिएको असन्तोषलाई सम्बोधन गर्न गम्भीर छलफल आवश्यक छ। 'नयाँ परिस्थिति बनेको छ भन्ने बहानामा तुरुन्तै नेतृत्व परिवर्तन गर्नुको सट्टा सुधार गर्नुपर्ने पक्षहरू पहिचान गरेर पार्टीलाई अघि बढाउनुपर्छ,' उनले भने।
यसबाहेक, उनले सभापतिमाथि आक्रमण भएको बेला पार्टीका जिम्मेवार नेताहरू पर्याप्त संवेदनशील हुन नसक्नु दुःखद भएको पनि बताए।