काठमाडौँ, साउन ६
प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभाबाट
विश्वासको मत लिँदै हुनुहुन्छ ।
नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा
नियुक्त भएर ३१ गते पद तथा गोपनीयताको शपथ लिनुभएका ओलीले आइतबार आज सदनबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।
प्रधानमन्त्रीमा दाबी गर्दा कांग्रेस
र एमालेका १६६ सांसदको समर्थन थियो । पछि सरकार गठनमा अशोक राई नेतृत्वको जसपा र
महन्त ठाकुर नेतृत्वको लोसपा सहभागी भएपछि सरकारलाई १७७ सांसदको समर्थन छ ।
यीबाहेक जनमत नाउपा र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल पनि विश्वासको मत दिन
सक्ने आँकलन गरिएको छ ।
सरकार बाहिर रहेको राष्ट्रिय
प्रजातन्त्र पार्टी (राप्रपा) ले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने
भएको छ । आफूहरूले अघि सारेको संविधान संशोधनको मुद्दामा सघाउन तयार रहेको बताउँदै
अहिले विश्वासको मत दिने आधार तयार नभएको अध्यक्ष राजेन्द्र लिङ्देनले बताउनुभयो ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा
माओवादी केन्द्रसहित प्रतिपक्षी गठबन्धनमा रहेका रास्वपा, नेकपा एकीकृत समाजवादीले समेत
विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन्। बाँकी साना दल र स्वतन्त्र
सांसदहरूले प्रधानमन्त्रीलाई मत दिने नदिने केही निर्णय लिएका छैनन्।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेसका
८८ दोस्रो दल उमालेका ७८ जसपाका ७ लोसपाका ४ सांसद प्रधानमन्त्रीको पक्षमा रहँदा
१७७ मत कायम रहँदा उहाँको विपक्षमा माओवादी ३२, रास्वपा २१, राप्रपा १४, नेकपा एस १०, जनमोर्चा १,नेमकिपा १ सहित ७९ सांसद
विपक्षमा प्रस्ट उभिने अवस्थामा देखिएका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत
पुर्याउन १३८ मत आवश्यक पर्नेमा प्रधानमन्त्री ओलीको पक्षमा हालसम्म १७७ मत
देखिएकाले उहाँले सदनबाट स्पष्ट बहुमत जुटाउने अवस्था छ । नेकपा एमाले र नेपाली कांग्रेससहित सरकारमा भएका दलहरूले
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्विप जारी गरेको छ ।