काठमाडौँ, चैत ७
संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तरको कार्यसूची रहेको छ ।
बिहान ११ बजे बस्ने बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसद् सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिन लागेका हुन्।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।
शून्य समयमा सांसदहरूलाई समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने समय छुट्टाइएको छ ।