विपन्नका लागि ‘एकीकृत सुविधा’, आठ गम्भीर रोगको उपचार बीमामार्फत हुने

Jhalkonepal

काठमाडौं- सरकारले स्वास्थ्य बीमामा आबद्ध नागरिकका लागि एकीकृत सेवा प्रणालीमार्फत आठ प्रकारका गम्भीर रोगको उपचार सुविधा सुरु गर्ने भएको छ। यो नयाँ व्यवस्था आउँदो कार्तिक १ गतेदेखि लागू हुनेछ।

सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरूलाई एउटै ढाँचामा ल्याउने उद्देश्यसहित सरकारले ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, अबदेखि यस्ता रोगको उपचार स्वास्थ्य बीमा प्रणाली अन्तर्गत मात्र उपलब्ध हुनेछ। त्यसैले हाल उपचार सेवा लिइरहेका र भविष्यमा सेवा लिन चाहने विपन्न नागरिकलाई असोज मसान्तभित्रै बीमामा आबद्ध हुन भनिएको छ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी भन्छन्, “बीमा प्रणाली लागू हुनु एकीकृत सेवा प्रवाहतर्फको ठुलो कदम हो। यसले स्रोतको दुरुपयोग रोकी पारदर्शी प्रणाली निर्माण गर्छ।”

सेवाको निरन्तरता सुनिश्चित गर्न मन्त्रालयले स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्राचार गरिसकेको छ। पत्रमा उल्लेख गरिए अनुसार, निर्देशिकाको दफा ४(क) ले विपन्न नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध हुन अनिवार्य बनाएको छ।

साथै, कार्तिक १ गतेदेखि बीमाविना सेवा नपाइने भएकाले सक्रिय बिरामीहरूलाई सेवा अवरुद्ध नहोस् भन्नका लागि असोज मसान्तभित्रै बीमा गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया