समाजवादीका दिर्घ सोराडी बने सुदूरपश्चिमका मुख्यमन्त्री

Jhalkonepal

धनगढी, बैशाख ६

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा समाजवादीका दिर्घ सोराडी नियुक्त भएका छन । सत्ता गठबन्धनका तर्फबाट सोराडीले, नेकपा माओवादी, एमाले नागरिक उन्मुक्ती र स्वतन्त्र सांसदको लिखित समर्थनमा दावी पेश गरे पछि प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन । सोराडीलाई माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्तीको २, समाजवादीका ४ र स्वतन्त्र १ सांसदले समर्थन गरेका छन ।  यसअघि सत्ता गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री समाजवादीलाई दिने सहमति भएपनि विचमा नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने सहमति भएपछि समाजवादीले रुष्ट भएर कांग्रेस सहितको गठबन्धनले समर्थन गरेका नागरिक उन्मुक्तीका लक्ष्मण चौधरीलाई समर्थन गरेको थियो । तर पछि गठबन्धनका नेताहरु विच सहमती भएपछि समाजवादीले समर्थन फिर्ता लिएर आफै दावी पेश गरेको थियो । 

समाजवादीको दावीलाई शुरुमा एमालेले समर्थन नगर्ने अडान लिए पनि अन्तिममा सत्ता साझेदार दलहरु विच सहमती जुटेपछि सोराडीले समर्थन प्राप्त गरेका हुन । 

यसअघि बैशाख २ गते नागरिक उन्मुक्तीका दुइ जना नेताले मुख्यमन्त्रीमा फरक फरक गठबन्धनबाट मुख्यमन्त्रीमा दावी पेश गरे पनि प्रदेश प्रमुख मियाँले दुबै दावीलाई अस्विकार गर्दै आज साँझ सम्मको समय तोकेका थिए । 

मुख्यमन्त्री नियुक्त भएका दिर्घ सोराडीलाई समर्थन दिन एमालेले आनाकानी गरेपछि अन्तिम समयमा मात्र उनको दावी दर्ता भएको थियो । 

सोराडी सुदूरपश्चिम प्रदेशको चौथो मुख्यमन्त्री बनेका छन । यस अघि प्रदेश सभाको पहिलो कार्यकालमा त्रिलोचन भट्टले पुरै ५ वर्ष मुख्यमन्त्री पद सम्हाले पनि २०७९ मा भएको निर्वाचनबाट गठन भएको प्रदेश सभाले १ वर्षमै तेस्रो मुख्यमन्त्री चयन गरेको छ । सोराडीले अव १ महिना भित्र संसदमा विश्वासको मत लिनु पर्नेछ । 


प्रतिक्रिया