झापा, भदौ १४
झापाको बिर्तामोड र शिवसताक्षीमा भएको मोटरसाइकल दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बिर्तामोडमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा कनकाई नगरपालिका– ५ का २६ वर्षीय सागर घिमिरेको मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड ३ स्थित पुरानो यातायात कार्यालय अगाडि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ५ प ५५६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१३ प ५१४० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका घिमिरेलाई उपचारार्थ बिएण्डसी अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए । घिमिरे बिर्तामोडस्थित माछापुछ्रे बैँकका कर्मचारी रहेको बताइएको छ । मोटरसाइकल चालक भद्रपुर नगरपालिका– १० का २९ वर्षीय सरोज बस्नेत र सोही मोटरसाइकल पछाडि सवार २८ वर्षीय सकिन न्यौपानेसमेत गम्भीर घाइते भएका छन् । उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
त्यस्तै, कनकाई पुलमा दुई वटा मोटरसाइकल एकापसमा ठोकिदा बाह्रदशी गाउँपालिका– ५ की १८ वर्षीया जेसिका सिग्देलको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– १० स्थित कनकाई पुलमा साँझ ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५४६३ ले साइकलयात्रीलाई ठक्कर दिई विपरीत दिशाबाट आइरहेको को ३१ प ९५२९ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो । दुर्घटनामा मे ३प५४६३ नम्बरको मोटरसाइकल चालक भद्रपुर नगरपालिका– ९ निवासी ४० वर्षीया रुद्रप्रसाद न्यौपानेको घायते हुनुभएको छ । गंभिर घाइते जेसिका सिग्देलको भने बिर्तासिटी अस्पतालमा राती ८ बजे उपचारका क्रममा मृत्यु भएको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।
त्यस्तै, को ३१प९५२९ नम्बरको मोटरसाइकल चालक दमक नगरपालिका–१ निवासी ४० वर्षीय सुरेश राई र सोही मोटरसाइकल पछाडि सवार इलाम जिल्ला चुलाचुली नगरपालिका–४ निवासी २९ वर्षीय निश्चल चेम्जोङ घाइते भएका छन् । घाइते दुवै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।