पुलटारमा राउटे बालबालिका: घुमन्ते जीवन, पहिचान र भविष्यको खोजी

Jhalkonepal

सुर्खेत । सुर्खेतको लेकबेशी नगरपालिका–७ स्थित पुलटार क्षेत्रमा हाल राउटे समुदायका बालबालिका देखिन्छन्।

जंगलमै निर्भर घुमन्ते जीवनशैली अपनाउँदै आएको नेपालको एक मात्र आदिवासी शिकारी–सङ्कलक समुदाय राउटेहरू केही समययता पुलटार आसपास अस्थायी रूपमा बसोबास गरिरहेका छन्। तिनै अस्थायी टहरामाझ खेलिरहेका बालबालिका आमाबुवासँग दैनिक काममा सघाइरहेका राउटे समुदायको वर्तमान अवस्था र भविष्यप्रतिको प्रश्न बोकेर उभिएका देखिन्छन्।

राउटे समुदाय पुस्तौँदेखि वनजंगलमा आधारित जीवन बिताउँदै आएको छ । काठबाट भाँडाकुँडा बनाउने, सिकार गर्ने र वनका फलफूलमा निर्भर रहँदै आएका राउटेहरू अझै पनि स्थायी बसोबास र औपचारिक जीवनशैली स्वीकार गर्न चाहँदैनन्। यही घुमन्ते जीवनशैलीका कारण राउटे बालबालिका औपचारिक शिक्षा, स्वास्थ्य सेवा र बाल संरक्षणका अवसरबाट वञ्चित हुँदै आएका छन्। पुलटार क्षेत्रमा रहेका राउटे बालबालिका अधिकांश समय खुला आकाशमुनि खेल्ने, दाउरा सङ्कलन गर्ने वा अभिभावकसँगै काठका सामग्री बनाउन सघाउने काममा व्यस्त देखिन्छन्।

लेखपढ नगर्ने, एकै ठाउँमा नबस्ने र खेतीपाती नगर्ने मान्यताले राउटे समुदाय पछिल्लो समय सामाजिक संस्कारसँग जोडिँदै आएका छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा जोड्न नसक्दा राउटे समुदायका बालबालिका शिक्षाको अवसरबाट टाढिएका छन् ।विद्यालय जाने उमेर पुगे पनि नियमित पढाइको पहुँचमा पुग्न नसक्नु उनीहरूको साझा समस्या हो। कतिपय बालबालिका अक्षर चिन्ने अवसरसमेत नपाएको स्थानीयहरू बताउँछन्।

स्वास्थ्यका दृष्टिले पनि राउटे बालबालिका जोखिममै छन् । घुमन्ते जीवनका कारण खोप, पोषण र उपचारमा निरन्तरता नहुँदा उनीहरू विभिन्न रोगको जोखिममा पर्ने गरेका छन्। विशेषगरी जाडोयाम र वर्षायाममा बालबालिकामा निमोनिया, झाडापखाला र छालासम्बन्धी समस्या देखिने गरेको स्थानीय स्वास्थ्यकर्मी बताउँछन्।

सरकारले राउटे समुदायलाई लोपोन्मुख आदिवासी जनजातिका रूपमा सूचीकृत गर्दै मासिक भत्ता, स्वास्थ्य सेवा र संरक्षणका कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर घुमन्ते स्वभावका कारण ती सेवा र सुविधा प्रभावकारी रूपमा बालबालिकासम्म पुग्न नसकेको सरोकारवालाको भनाइ छ। बालबालिकाको शिक्षा र स्वास्थ्यमा विशेष कार्यक्रम आवश्यक भए पनि समुदायको सांस्कृतिक पहिचान जोगाउँदै कसरी सेवा पुर्‍याउने भन्ने चुनौती अझै कायमै छ।

लेकबेशी नगरपालिका र जिल्ला प्रशासनले राउटे समुदायसँग समन्वय गर्दै आधारभूत स्वास्थ्य सेवा, खोप र बाल संरक्षणका कार्यक्रम सञ्चालन गर्ने प्रयास गरिरहेको जनाएको छ। तर दीर्घकालीन समाधानका लागि समुदायमैत्री नीति, चलायमान शिक्षा कार्यक्रम र सांस्कृतिक संवेदनशीलता आवश्यक रहेको बताउँछन्।

पुलटारमा देखिएका राउटे बालबालिका केवल एउटा समुदायका सदस्य मात्र होइनन्, उनीहरू सांस्कृतिक विविधता र आदिवासी पहिचानका संवाहक पनि हुन्। घुमन्ते जीवनशैली र आधुनिक राज्य व्यवस्थाबीच सन्तुलन खोज्दै उनीहरूको अधिकार सुनिश्चित गर्नु मुख्य चुनौती बनेको छ।

प्रतिक्रिया