अब विद्युत् कटौती र आपूर्ति समयको जानकारी मोबाइलमै

Jhalkonepal

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई विद्युत् आपूर्ति बन्द हुने र पुनः सञ्चालन हुने समयसम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने तयारी गरेको छ। यसका लागि प्राधिकरणले ग्राहकको विवरण अद्यावधिक गर्ने केवाईसी प्रक्रिया तीव्र बनाएको छ।

ग्राहकको सही विवरण अभावमा सूचना प्रवाहमा समस्या हुँदै आएको भन्दै प्राधिकरणले अनलाइनमार्फत केवाईसी भर्ने व्यवस्था सुरु गरेको हो। अब ग्राहकले घरमै बसेर प्राधिकरणको केवाईसी पोर्टलमार्फत आफ्नो व्यक्तिगत तथा विद्युत् सेवासम्बन्धी विवरण अद्यावधिक गर्न सक्नेछन्।

प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले ग्राहकको अद्यावधिक विवरण उपलब्ध भएपछि विद्युत् आपूर्तिसम्बन्धी सूचना समयमै प्रवाह गर्न सहज हुने बताए। उनका अनुसार नयाँ प्रणालीले ग्राहक सेवा थप प्रभावकारी बनाउनेछ।

प्राधिकरणले केवाईसी सेवा पूर्ण रूपमा अनलाइन बनाएको जनाएको छ। यससँगै ग्राहकले विवरण सच्याउन वा अद्यावधिक गर्न कार्यालय वा महसुल केन्द्र धाउनुपर्ने बाध्यता हट्ने भएको छ।

प्राधिकरणले सबै ग्राहकलाई आफ्नो विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न आग्रह गरेको छ। अद्यावधिक विवरणका आधारमा आगामी दिनमा विद्युत् कटौती, मर्मत सम्भार तथा अन्य सेवासम्बन्धी जानकारी ग्राहकलाई प्रत्यक्ष रूपमा उपलब्ध गराउने योजना रहेको जनाइएको छ।

प्रतिक्रिया