काठमाण्डौ,असार १७
देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । ठूलो वर्षा भइरहेका बर्दिया, कास्की, उदयपुर लगायतका ठाउँका खोला र नदीमा अहिले बाढी आएको छ । यस्तै बाराको सिमरा, रतनपुरी, निजगढ, कोब्ली, कलैया र आसपासको क्षेत्रमा ठूलो पानी परिरहेकाले दुधौरा, पसाह, लाल बकैया लगायत क्षेत्र भई बहने अरू खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनुहुनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच मनसुनी प्रणाली झनै सक्रिय हुने भएकाले आउँदो बिहीवारसम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाका अनुसार न्यूनचापीय रेखा नेपालको दक्षिणी भूभाग, सीमा आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने भएको हो । मनसुन थप सक्रिय भई आउँदो बिहीवारसम्म देशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले विशेष बुलेटिनमार्फत जनाएको छ ।
१७ असार २०८१, सोमबार ०६:५६ मा प्रकाशित