धनगढी, बैशाख ९
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबिचको उतारचढावकैबिच बिहीबार मुख्यमन्त्री नियुक्त एकीकृत समाजवादीका सोडारीलाई मन्त्रिपरिषद् विस्तारको सकस परिरहेको छ । सुदूरपश्चिममा सत्तारूढ दलहरू मन्त्रालयको संख्या थप्न सहमत भए पनि बजेटवाला मन्त्रालय र संख्याको दाबीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सकस भइरहेको छ।
तत्काल सरकारमा नजाने एमालेको घोषणाले विश्वासको मत लिएर ढुक्क हुने उनको योजना नै धकेलिन पुगेको छ। उनलाई सहयोगी दलहरूमा मन्त्रालय भागबन्डा मिलाउन कठिन भइरहेको छ। सोडारी सरकारलाई एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र स्वतन्त्र सांसदको समर्थन छ। समर्थक दलका आकर्षक मन्त्रालय र संख्यामा भइरहेको आ–आफ्नै दाबीले पनि मुख्यमन्त्री सोडारीलाई अप्ठेरो पारिरहेको छ। अर्कोतिर दाबी पेस गर्ने बेला नै समर्थन गरे पनि तत्काल सरकारमा नजाने एमालेको घोषणाले पनि थप अन्योल सिर्जना गरिदिएको छ।