रौतहट- रौतहटको यमुनामाई गाउँपालिकाको कार्यालय अगाडी जनप्रतिनिधि नै विभिन्न माग राखी धर्नामा बसेका छन् ।
गाउँपालिकाका वडाध्यक्षको नेतृत्वमा २१ जना निर्वाचित सदस्यहरु १३ सूत्रिय मागहरु राख्दै धर्नामा बसेका हुन । गाउँपालिकाको सरुअठा स्थित कार्यपालिकाको कार्यालय अगाडी वडा नम्वर २ का वडाध्यक्ष सीताराम यादवको नेतृत्वमा १ देखि ५ वडाका २१ जना सदस्यहरु बुधवार विहान १० बजे देखि धर्नामा बसेका छन । संघर्ष समितिका संयोजक समेत रहेका यादवका अनुसार गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल समेतको मिलोमतोमा कानुन विपरित काम गरिरहेको पाइएकाले आन्दोलित हुनु परेको हो । पालिकाबाट हुने हरेक काम पार्दर्शीता, निष्पक्षता, मितव्यतिता, सुशासनमैत्री हुनु पर्ने उनले बताए ।आर्थिक बर्ष २०७९ देखि ८२ सम्मको गाउँ सभाको निर्णय, कार्यपालका बैठकको निर्णय, लेखा परिक्षण प्रतिवेदन, गाउँपालिकामा कार्यरत स्थायी, करार र दैनिक ज्यालादारीमा सबै तहका कर्मचारीहरुको नियुक्ति र त्यसको प्रक्रिया लगायत माग गरिएको उनले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष महमद सउदले गाउँ सभा गर्ने तयारी समेत भै रहेकाले विरोध नगर्न सुझाव दिए । गाउँसभाबाट मागहरु पारित भएपछि विचार गरेर दिनुपर्ने सूचना उपलब्ध गराउने उनले प्रतिबद्धता जनाए ।आउदो ६ गते गाउँ सभा गर्ने तयारी थालेको समेत उनले बताए ।