काठमाडौं- १९औँ मानव बेचबिखनविरुद्ध राष्ट्रिय दिवसको अवसरमा “तीनै तहका सरकार मिलेर गरौं हातेमालोः मानव बेचबिखन हटाऔँ - दुष्चक्रको जालो” नाराका साथ शक्ति समूह र महिला तथा बालबालिका बेचबिखनविरुद्ध सहकर्मी समूह नेपाल (एटविन) संयुक्त रूपमा “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को प्रथम संशोधन, २०८१” सम्बन्धी छलफल कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति माननीय ठाकुर प्रसाद गैरे, विभिन्न संसदीय समितिका सदस्यहरू—माननीय शोभा ज्ञावली, कल्पना मियाँ, शरिता भुसाल, विष्णु कुमारी सापकोटा, प्रकाश ज्वाला, र मदन कुमारी शाह—उपस्थित थिए। छलफलका अध्यक्ष एटविन अध्यक्ष तारा भण्डारीको उपस्थित थियो। कार्यक्रममा शक्ति समूहका कार्यकारी निर्देशक बालकुमारी दर्लामी, एटविनकी कार्यकारी निर्देशक बेनु माया गुरुङ, र शक्ति समूहकी संस्थापक सदस्य चरिमाया तामाङ प्रमुख प्रस्तुतकर्ताका रूपमा रहेका थिए।
प्रमुख प्रस्तुती र मागहरूमा मानव बेचबिखनबाट पीडित र प्रभावितहरूको उद्धार तथा फिर्तीसँग सम्बन्धित अवस्था विस्तारमा बालकुमारी दर्लामीले प्रस्तुत गरेकी थिइन। बेनु माया गुरुङले ऐनमा थप आवश्यक संशोधनका विस्तृत प्रस्तावहरू प्रस्तुत गरेकी थिइन भने चरिमाया तामाङले विधेयकमा यी संशोधनहरू समावेश गरी संसद्बाट यथाशीघ्र पारित गर्नुपर्ने प्रतिनिधिहरू समक्ष अनुरोध गरिन। साथै, उनले प्रभावितहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय सञ्जालको तर्फबाट मननीयहरूलाई ज्ञापनपत्र हस्तान्तरण गरेकी थिइन्।
कार्यक्रमका प्रतिबद्धता र निष्कर्षहरूमा सभापति गैरेले यस विषयमा पहल गर्न र समिति बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरिन।
उपस्थित सांसदहरूले विशेष गरी महिला तथा सामाजिक मामिला समितिको निमित्त पुनः छलफलका लागि बैठक बोलाउने प्रतिज्ञा व्यक्त गरेका थिए।
सो कार्यक्रममा ३८ जनाको सहभागिता रहेको जानकारी गराइएको छ।