धनुषा , वैशाख २४
हतियार देखाएर एक समूहले धनुषामा सोमबार ८० लाख रुपैयाँ लुटपाट गरेका छन्।धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित रघुनाथपुरमा रकम लुटपाट भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले पेस्तोल देखाएर लुटेका हुन्।
प्रहरीका अनुसार महतो जनकपुरस्थित हिमालयन बैंकबाट रकम झिकेर रघुनाथपुर फर्किंदै थिए।
सोही क्रममा तीन जनाको समूहमा रहेको अज्ञात समूहले ८० लाख रुपैयाँसहित झोला लुटेर फरार भएको सूचना आएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।
२३ बैशाख २०८१, सोमबार ०७:५० मा प्रकाशित