काठमाण्डौं, असार ३१
देशमा नयाँ सरकार गठन भएकै दिन नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मुल्य वृद्धि गरेको छ । स्वचालित मुल्य निर्धारण प्रणाली अनुसार चलेको निगमले भारतबाट मुल्य बढेर आए पछि नेपालमा पनि आज राती १२ बजे पछि लागु हुने गरि मुल्य वृद्धि गरेको जनाएको छ ।
सोमबार बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार बढेको मूल्य सोमबार राति १२ बजेदेखि कार्यान्वयन हुनेछ ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६८ पुगेको छ । सुर्खेत र दाङ वरपर १७० र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १७१ पुगेको छ ।
डिजेल र मट्टितेलको मूल्य चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १५७ पुगेको छ । सुर्खेत र दाङ वरपर १५९ र काठमाडौं, पोखरा र दिपायल वरपर प्रतिलिटर १६० पुगेको छ ।