काठमाडौं- एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि आगामी कात्तिक १९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेको हो।
यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर वितरण गरिसकेको छ। अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला हुन लागेको हो।
कम्पनीले बाँकी सेयरमध्ये १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूका लागि र २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ। बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला हुनेछ।
लगानीकर्ताले यस आईपीओमा न्यूनतम १० कित्ता (रु. १,०००) र अधिकतम ५० हजार कित्ता (रु. ५० लाख) सम्मको आवेदन दिन सक्नेछन्। आवेदन कात्तिक १९ गतेदेखि खुल्ने र छिटोमा कात्तिक २३ गतेसम्म बन्द हुने जनाइएको छ।
कम्पनीको आईपीओलाई इक्रा नेपाल लिमिटेडले ‘इक्राएनपी–आईआर बीबीप्लस रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने क्षमताबारे मध्यम स्तरको सुनिश्चितता रहेको जनाउँछ।
यस आईपीओको बिक्री व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ।