काठमाडौँ, असार ४
राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर स्वदेश फर्कने क्रममा मङ्गलबार जर्मनीको बर्लिनबाट कतारको दोहातर्फ प्रस्थान गर्नुभएको छ ।
राष्ट्रपति पौडेललाई बर्लिन ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा जर्मन सरकारका उच्च अधिकारीले बिदाइ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भएको थियो ।
सन् १९८६ यता राष्ट्रप्रमुखको तहमा नेपालबाट जर्मनीमा भएको राष्ट्रपति पौडेलको यो पहिलो भ्रमण भएको हो । जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति जर्मनी पुग्नुभएको थियो ।
राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणका लागि जेठ २९ गते मङ्गलबार साँझ जेनेभा प्रस्थान गर्नुभएको थियोे । राष्ट्रपति निर्वाचित भएपछि उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
४ असार २०८१, मङ्गलबार ०९:२२ मा प्रकाशित