काठमाण्डौ , जेठ १७
सरकारले आजदेखि सातवटै प्रदेशमा
‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई
एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम
मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिनुभयो । हरेक प्रदेशमा दुई/दुई दिन सञ्चालन
हुने मेला कोशी प्रदेशको विराटनगरमा आजदेखि शुरु भएर जेठ ३० गते बाग्मती प्रदेशको
ललितपुरमा सकिने मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशको विराटनगरमा आज र
भोलि, मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २०
गते, गण्डकी प्रदेशको पोखरामा २१ र
२२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र
२४ गते, कर्णाली प्रदेशको सुर्खेतमा २५
र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा
२७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।
श्रमाधान कल सेन्टरको ११४१
नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी लिन सकिने श्रम मन्त्रालयले जनाएको छ ।
मेलाका लागि अस्ति मङ्गलवारदेखि दर्ता खुला गरिएको छ । श्रम मन्त्रालय र मातहतका
सबै निकाय एवम् विभिन्न तालिम प्रदायक संस्थाहरूको उपस्थिति रहने मेलामा सामी
परियोजना, रेमी योजना, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल तालिम तथा रोजगार व्यवसायी
महासङ्घ, होटल सङ्घ नेपाल लगायतका स्टल
रहनेछन् ।
मेलामा रोजगारदाता कम्पनीहरू र
रोजगारीको खोजीमा रहेका नेपाली जोडिन सक्ने मन्त्रालयले जनाएको छ । श्रममन्त्री
अर्यालले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था
रहेको पनि बताउनुभयो । मेलाले स्वदेशी कामदार र विदेशमा सीप सिकेर फर्किएर
कामदारलाई अवसर दिलाउने सरकारको विश्वास छ ।