काठमाडौं- सामाजिक सञ्जालमा ‘एरेस्ट केपी ओली’ भन्ने अभियान तीव्र गतिमा फैलिएको छ। जेनजी आन्दोलनका अगुवाहरूले गत भदौ २३ गतेको प्रदर्शनमा भएको दमनको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने माग गर्दै उक्त अभियान थालेका हुन्।
आन्दोलनका क्रममा निहत्था विद्यार्थीहरूमाथि सुरक्षा निकायले गोली प्रहार गरेको भन्दै त्यसको जिम्मा तत्कालीन सरकारका प्रमुखहरूलाई दिनुपर्ने माग उठ्दै आएको छ। सोही सन्दर्भमा जेनजी अभियन्ता रक्षा बमले सामाजिक सञ्जालमा लेखेकी छन्, “अधिकार माग्न गएका निहत्था विद्यार्थीहरूमाथि जुन दम्भ र अहंकारले गोली दागियो, त्यो तानाशाहीपनको हिसाब हुनु जरूरी छ।”
उनको पोस्टलाई सेयर गर्दै अर्का अभियन्ता युजन राजभण्डारीले लेखेका छन्, “हरेक गोलीको हिसाब हुनेछ। एरेस्ट केपी ओली।”
सोही अभियानमा सहभागी हुँदै अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पनि ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्।
गत भदौ २३ गते जेनजी आन्दोलनको पहिलो दिन विद्यार्थीहरूलाई लक्षित गर्दै सुरक्षाकर्मीले बल प्रयोग गरेको थियो। आन्दोलनकारीहरूका अनुसार त्यस दिन केही युवा गम्भीर घाइते भएका थिए भने केहीलाई हिरासतमा लिइएको थियो।
जेनजी अगुवाहरूले उक्त घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गर्न थालेका हुन्। ‘एरेस्ट केपी ओली’ ट्रेन्डको रूपमा फैलिँदै गएको छ र यसले फेरि एकपटक सत्ता पक्षलाई जवाफदेही बन्ने प्रश्न उठाएको छ।