रास्वपा केन्द्रीय समितिको बैठक मंगलबार बस्ने

Jhalkonepal

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक यही मंगलबार बिहान ८ बजे बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा आयोजना हुने बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे गहन छलफल हुने जनाइएको छ।

पार्टीद्वारा सार्वजनिक गरिएको सूचना अनुसार बैठकमा सातवटा मुख्य विषयवस्तुमा छलफल हुनेछ। प्रारम्भमा समसामयिक अवस्था र बैठकको प्रयोजनबारे संक्षिप्त छलफल हुनेछ भने त्यसपछि हालै सम्पन्न प्रदेश स्तरीय बैठकहरूबाट प्राप्त प्रतिवेदनहरू प्रदेश सभापतिहरूले प्रस्तुत गर्नेछन्।

देशको परिवर्तित राजनीतिक परिवेशमा केन्द्रीय सदस्यहरूले आ(आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ। साथै, पार्टीको संगठन र विभागीय संरचनालाई लिएर पनि विशेष चर्चा हुने बताइएको छ।

यसबाहेक, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले अवलम्बन गर्ने रणनीति निर्धारण गर्ने तयारी समेत बैठकको कार्यसूचीमा समावेश गरिएको छ। पार्टीको ऐतिहासिक महाधिवेशनसम्बन्धी तयारीमाथि पनि विस्तृत छलफल हुनेछ। विविध अन्य विषयहरूमा आवश्यक निर्णयहरू लिने कार्यक्रम पनि रहेको छ।

प्रतिक्रिया