प्रचारप्रसारको अभावमा ओझेलमा गौरीगाउँ ताल

Jhalkonepal

दाङ। तुलसीपुर उपमहानगरपालिका–१० मा रहेको गौरीगाउँ ताल पर्यटकीय दृष्टिले आकर्षक भए पनि प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको छ। स्थानीयका अनुसार पर्यटन प्रवर्द्धनका लागि पर्याप्त पहल नहुँदा बजार नजिकै रहेको यो प्राकृतिक सम्पदा अपेक्षाअनुसार पर्यटक आकर्षित गर्न सकेको छैन। 

तुलसीपुर बजारबाट दक्षिणतर्फ छोटो दूरीमा रहेको करिब आठ बिघा क्षेत्रफलमा फैलिएको यस तालको आफ्नै ऐतिहासिक महत्त्व छ। पहिले यहाँ सातवटा छुट्टाछुट्टै ताल रहेकामा अहिले ती सबैलाई एकीकृत गरेर एउटै ठूलो तालको स्वरूप दिइएको हो। 

तालको बीचभागमा करिब एक करोड रुपैयाँको लागतमा शिवमन्दिर निर्माण गरिएको छ। मन्दिरमा शिव, गणेश, सूर्य, देवी र विष्णुको मूर्ति स्थापना गरिएको छ। मन्दिरसम्म पुग्नका लागि करिब ४५ मिटर लामो पुल निर्माण गरिएको स्थानीय रमेश बुढाथोकीले बताए।  

वर्षायामको पानी सङ्कलन हुने यस तालमा वर्षभरि पानी रहने र व्यावसायिक रूपमा माछापालनसमेत गरिने गरिएको बुढाथोकीको भनाइ छ। उनका अनुसार सडक हुँदै यात्रा गर्नेहरू कहिलेकाहीँ तस्बिर खिच्न रोकिए पनि ताल अवलोकनका लागि विशेष रूपमा आउने पर्यटकको सङ्ख्या भने न्यून छ। 

सडक सञ्जालको सहज पहुँच र बजारसँगको निकटताका कारण गौरीगाउँ ताललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना रहेको स्थानीयको विश्वास छ। दुर्गम क्षेत्रका साना पोखरीसमेत पर्यटकीय केन्द्रका रूपमा विकास भइरहेका बेला बजार नजिकै रहेको यति ठूलो ताल भने उपेक्षित बनेको उनीहरूको गुनासो छ। 

स्थानीय उत्तम चौधरीले ताललाई व्यवस्थित गरी प्रभावकारी प्रचारप्रसार गर्न सके दाङकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए। 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले गौरीगाउँ ताललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पहल सुरु गरिएको जानकारी दिए। उनका अनुसार ताल क्षेत्रमा थप भौतिक पूर्वाधार निर्माण गर्दै योजनाबद्ध रूपमा विकासका लागि आवश्यक बजेटसमेत व्यवस्था गरिनेछ। 

प्रतिक्रिया