मकवानपुर- एसियन हाइवेअन्तर्गत हेटौंडा बजार क्षेत्रमा पर्ने २५ मिटर चौडाइको सडक विस्तार कार्य सुरु भएको ५० वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन। पटक–पटक योजना बने पनि सरकारी निकायको निष्क्रियता र राजनीतिक स्वार्थका कारण काम अघि बढ्न सकेन।
सडक डिभिजन कार्यालय मकवानपुरले विभिन्न समयमा ३५ दिने सूचना जारी गरी सडक क्षेत्रभित्रका घर, टहरा र पसल हटाउन निर्देशन दिए पनि सो बारे निष्कर्ष निस्कन सकेन । सडक विस्तार नहुँदा बजार क्षेत्रमा पार्किङको अभाव, ट्राफिक जाम र सवारी दुर्घटनाको समस्या दिनप्रतिदिन बढ्दै गएको छ।
२०७२ सालमा राप्ती रोडसाइडका संरचना भत्काइए पनि पुनः त्यही ठाउँमा पसलहरू खुलेका छन्। स्थानीय प्रशासन र सरोकारवाला निकायले ठोस कदम नचालेपछि सडक पुनः अव्यवस्थित बनेको स्थानीयवासीको गुनासो छ।
हेटौंडा–९ का हरि खड्का भन्छन्, “सडक विस्तारमा ढिलाइ हुनुको मुख्य कारण नेताहरूको स्वार्थ हो। चुनाव आउँदा वाचा गर्छन्, तर जितेपछि यो मुद्दा बिर्सिन्छन्।” हेटौंडा–८ की सानु लामाले दशकौँदेखि यही कुरा सुन्दै आएको बताइन्। “बुबाको पालादेखि सुरु भएको सडक अझै बनेको छैन। अब छोराको पालामा होला कि आशा गर्छौं,” उनले भनिन्।
हेटौंडा–१० का अरुण लामाका अनुसार केही ठूला नेताका निजी आवास र सरकारी निवास सडकको दायराभित्र परेकाले पनि विस्तार रोकिएको हो। “यदि सडक विस्तार भएको भए बजारको स्वरूप नै फेरिन्थ्यो,” उनले भने।
हाल बाइपास रोड हुँदै सडकको चौडाइ २५ मिटरबाट घटाएर १६ मिटरमा सीमित गर्ने प्रस्तावले स्थानीयबीच असन्तोष सिर्जना गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले उद्योग वाणिज्य सङ्घको कार्यक्रममा हेटौंडा बजारमा १६ मिटर सडक बनाउने बताएका थिए। तर स्थानीयहरू पुरानो २५ मिटरको योजना नै कार्यान्वयन गर्नुपर्ने पक्षमा छन्।
सडक डिभिजन हेटौंडाका सूचना अधिकारी इञ्जिनियर यादव सुवेदीका अनुसार, जेनजी आन्दोलनपछि सडक विस्तार कार्य अझ कठिन बनेको छ। बजेटको कमीले पनि काम अघि बढ्न सकेको छैन। उनका अनुसार, फागुन २१ को चुनावअघि सडक विस्तारको काम सुरु गर्ने तयारी भइरहेको छ।
राजनीतिक हस्तक्षेप, निजी आवास, बजेट अभाव र प्रशासनिक ढिलाइका कारण हेटौंडाको २५ मिटर सडक विस्तार योजना अझै अधुरो छ। स्थानीयवासी भने यसपालिको चुनावअघि सडक विस्तारको काम सुरु हुने आशामा छन्।