काठमाण्डौं, पौष ५
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालतमा मुद्धा दर्ता गरिँदैछ। जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐन अनुसार मुद्धा दर्ता गर्न लागेको हो।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जना सर्वसाधारण बचतकर्ताले बचत राखेको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप लामिछानेमाथि छ। लामिछाने गोर्खा मिडियाको शेयर सदस्य र प्रवन्ध निर्देशक थिए। लामिछानेसहित गोर्खा मिडियाको तत्कालीन संचालक एवं पूर्व डिआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङ विरुद्ध पनि मुद्धा दर्ता गर्ने तयारी छ। उनीहरु पनि सुर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
उनीहरु विरुद्ध मुद्धा दर्ता गर्ने हदम्याद पनि शुक्रबार सकिँदैछ। सहकारी पीडितले गत वर्ष माघ २२ गते दिएको किटानी जाहेरीका आधारमा लामिछानेलाई कात्तिक २ गते काठमाडौंमा पक्राउ गरी पोखरा ल्याइएको थियो। पूर्व डिआइजी छविलाल जोशीलाई भने असोज ६ गते पक्राउ गरिएको थियो। एउटै मुद्धा भएकाले जोशी पक्राउ परेको दिनदेखि हदम्याद गणना गरिएको छ। उनीहरु विरुद्ध एउटै मुद्धा दर्ता हुने सरकारी वकिलको कार्यालयले जनाएको छ।
सहकारी ठगीमा अनुसन्धान गर्न २५ दिन, संगठित अपराधमा ६० दिन, र सम्पत्ति शुद्धीकरण ऐनमा ९० दिन अनुसन्धानका लागि हिरासतमा राख्न पाउने हदम्याद कानुनले दिएको छ। सहकारी ठगी आरोपमा पूर्व डिआइजी पक्राउ परेको शुक्रबार ९० दिन पुगेको छ। हदम्यादको अन्तिम दिन भएकाले जिल्ला सरकारी वकिलको कार्यालयले शुक्रबार जसरी भए पनि अदालतमा मुद्धा दर्ता गर्नुपर्ने कानुनी बाध्यता छ। यसअघि अनुसन्धान गर्न लामिछानेलाई हिरासतमा राख्ने भन्दै ८ पटक म्याद थप गरिएको थियो।