पर्सा- गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भएको स्पष्ट गर्दै यसबारेमा मित्रराष्ट्रहरूले चित्त दुखाउनु नपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले भारत र चीनबीच लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने समझदारीप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको आपत्ति उचित रहेको बताए।
'लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो। यसमा कुनै मित्रराष्ट्रसँग सम्बन्ध बिग्रनुपर्ने कारण छैन,' उनले भने, 'भारत र चीनले पनि यसमा चित्त दुखाउनु पर्ने कुनै कारण छैन।'
गृहमन्त्री लेखकले प्रधानमन्त्री ओलीको चीन भ्रमणको सन्दर्भमा नेपालले आफ्नो भूमि प्रयोग गरेर कुनैपनि राष्ट्रविरुद्ध गतिविधि हुन नदिने स्पष्ट पारे।
१५ भदौ २०८२, सोमबार ०२:१५ मा प्रकाशित