काठमाडौं- लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पछिल्लो आन्दोलनले देशमा डर र आशा दुवै सिर्जना गरेको बताउँदै अबको पुनर्निर्माण भौतिक मात्र नभई आर्थिक पुनरुत्थानमुखी हुनुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० द्वारा आयोजित ूअर्थतन्त्र पुनरुत्थानको आगामी बाटोू विषयक कार्यक्रममा उनले भूकम्पपछिको पुनर्निर्माणको अनुभव सुनाउँदै, आत्मबल र सहकार्यबाट पुनर्निर्माण सम्भव हुने बताए।
उनका अनुसार, श्रीलंकामा आन्दोलनको बेला अर्थतन्त्र गम्भीर संकटमा पुगे पनि नेपालका आर्थिक सूचकहरू तुलनात्मक रूपमा राम्रो अवस्थामा छन्। उनले वर्तमान अवस्थामा निजी क्षेत्रको मनोबल उच्च बनाउन विश्वास दिलाउनु आवश्यक रहेको धारणा राखे।
ज्ञवालीले सरकारले आगामी नीतिहरू बनाउँदा आर्थिक क्षेत्रसँग जोडेर, विशेष गरी युवालाई लक्षित गरेर, योजना ल्याउनुपर्ने सुझाव दिए। शिक्षा र सीपको संयोजनमार्फत युवालाई उत्पादकत्वमा ल्याउन सकिने उनको भनाइ थियो।
उनले संविधानले परिकल्पना गरेको तीन तहको सरकार प्रणाली अनुसार, धेरै समस्या स्थानीय तहबाटै समाधान हुनसक्ने हुँदा केन्द्र सरकारमात्र हेर्ने प्रवृत्तिमा सुधार गर्नुपर्ने बताए। साथै, सरकारी नीति नियमले प्रक्रियामा भन्दा पनि नतिजामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए।
विदेशी लगानी भित्र्याउन दीर्घकालीन नीतिगत स्थायित्व आवश्यक रहेको भन्दै उनले लगानी बोर्डमा सार्वजनिक–निजी साझेदारी मोडललाई प्राथमिकता दिइएको जानकारी दिए। वन स्टप सर्भिस सेन्टर प्रभावकारी कार्यान्वयनका लागि कानुनी संरचना संशोधन भइसकेको र अब कार्यविधि निर्माण भइरहेको समेत उनले बताए।
उनका अनुसार, विगतमा सरकार परिवर्तनसँगै नीतिमा हुने अस्थिरताले विदेशी लगानीकर्ताको विश्वास घटाएको थियो। त्यसकारण अब बोर्डको संरचना परिवर्तन गरी सरकार र विपक्षी दुवैका प्रतिनिधि सहभागी हुने मोडेलतर्फ अघि बढाइएको जानकारी दिए।