सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै

Jhalkonepal

कैलाली, मङ्सिर २३ : पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो ।

स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख रमेन्द्रप्रसाद कुशवाहका अनुसार सदूरपश्चिममा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेको सङ्ख्या पाँच लाख ४२ हजार तीन सय ७३ पुगेको छ ।

स्वास्थ्य बीमा गराउनेको सङ्ख्या सबैभन्दा बढी कैलालीमा दुई लाख ८० हजार नौ सय ५७ पुगेको छ भने कञ्चनपुरमा ५९ हजार ५२ र अछाममा ५५ हजार चार सय ८३ जनाले स्वास्थ्य बीमा गराएका छन् । यसैगरी बझाङमा ३९ हजार नौ सय ७३, बाजुरामा ३४ हजार पाँच सय ८९, बैतडीमा २३ हजार आठ सय ५८, डडेल्धुरामा १९ हजार नौ सय १०, डोटीमा १६ हजार तीन सय ५५ र दार्चुलामा १२ हजार एक सय ९६ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्याङ्कले देखाएको छ । प्रमुख कुशवाहका अनुसार पुराना बिमित मध्ये करिब ८५ प्रतिशतभन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक रु तीन हजार पाँच सय प्रिमियम तिर्नुपर्छ भने पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप रु सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान छ । बिमित परिवारका सदस्य बिरामी हुँदा रु एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्छ । सरकारी अस्पतालमा उपचार सेवा सहज हुन लागेकाले सर्वसाधारणको स्वास्थ्य बीमामा आकर्षण बढ्न थालेको जनाइएको छ । स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र सङ्घीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र सङ्घीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् । सरकारले विसं २०७२ बाट देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले कैलाली, इलाम र बागलुङसहित तीन जिल्लाबाट सो कार्यक्रम सुरु गरेको थियो । सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी÷एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।

प्रतिक्रिया