काठमाण्डौं, बैशाख १५
नेपाल शिक्षक महासंघले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा सरकारले संरक्षित गरेका मान्छेहरू प्रवेश गरी ढुंगामुढा गरेको बताएको छ। महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले सोमबार विज्ञप्ति जारी गरी आइतबारको प्रदर्शनमा सरकारद्वारा संरक्षितहरू आन्दोलनमा प्रवेश गरी स्थिति भड्काएको आरोप लगाएका हुन्।
शान्तिपूर्ण आन्दोलन र विरोध सभामा सरकारद्वारा संरक्षित केही भिजिलान्तेहरु पसेर ढुंगामुढा गरी स्थिति भड्काउ बनाई त्यसैको आडमा प्रहरीबाट शिक्षक-कर्मचारी माथि पानीको फोहरा हान्ने, ढुङ्गा हान्ने तथा निर्मम ढङ्गबाट लाठी प्रहार गर्ने काम भएको विज्ञप्तीमा भनिएको छ।
आइतबार बानेश्वरमा आन्दोलित शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले लाठीचार्ज र पानीको फोहोरा हानेको थियो। प्रदर्शनरत शिक्षकहरूको तर्फबाट प्रहरीमाथि ढुंगामुढासमेत भएको थियो। महासंघले घटनाको घोर भर्त्सना गरेको छ। आइतबारको घटनामा ६२ जना शिक्षकहरु घाइते भएको र झन्डै एक दर्जन शिक्षकहरूको अवस्था चिन्ताजनक रहेको महासंघले जनाएको छ।