काठमाडौं, चैत १९
कानुन व्यवसायीहरूको छाता संगठन, नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व
चयनका लागि आगामी शनिबार देशभर चुनाव हुँदैछ । एकातर्फ लोकतान्त्रिक–प्रगतिशील र
अर्कोतर्फ व्यावसायिक समूहको नाम दिएर कानुन व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिएका
छन् ।
कांग्रेस र एमाले समर्थित कानुन
व्यवसायीहरूको संयुक्त समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले गरेका
छन् । मिश्र नेतृत्वको समूहमा राप्रपा समर्थित राष्ट्रिय प्रजातान्त्रिक कानुन
व्यवसायी संगठन पनि सामेल छ । उक्त समूहमा एमाले निकटको प्रगतिशील समूहबाट केदार
कोइराला महासचिवको उम्मेदवार छन् ।
माओवादी निकट प्रोग्रेसिभ प्रोफेसनल
लयर्स एसोसिएसन (पीपीएलए)ले वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठको नेतृत्वमा
उम्मेदवारहरूको समूह अघि सारेको छ । उक्त प्यानलमा राष्ट्रिय स्वतन्त्र पार्टी
निकटका कानुन व्यवसायी संगठन स्वतन्त्र कानुन व्यवसायी मञ्चबाट यज्ञमणि न्यौपानेले
महासचिव पदमा उम्मेद्वारी दिएका छन् ।
न्यायपालिकाको संरचनागत रुपान्तरणदेखि
विकृति-विसंगतिका विषयहरू दुवै समूहको कानुन व्यवसायीका अजेन्डा बनेका छन् ।
संविधान संशोधन र त्यस क्रममा न्यायपालिकाको संरचनागत सुधारका विषय उठाएका
उम्मेदवार समूहले कानुन व्यवसायीहरूको क्षमता विकास, पेशागत दक्षता अनि सामाजिक सुरक्षाको अजेन्डा अघि सारेका छन् ।
वकालत क्षेत्रमा नवआगन्तुक कानुन व्यवसायीहरूको बढ्दो
संख्यालाई आकर्षित गर्न दुवै समूहले युवा र नवोदित कानुन व्यवसायीको हकहितको विषय
प्राथमिकताका साथ उठाएको देखिन्छ । विकृति-विसंगतिरहित न्यायालय, भ्रष्टाचार नियन्त्रण जस्ता अजेन्डा दुवै समूहको घोषणपत्रमा
समावेश छन् ।
१७ चैत २०८१, मङ्गलबार ०८:२२ मा प्रकाशित