सुर्खेत- कर्णाली प्रदेशबाट उत्पादन भएका अदुवा, बेसार लगायतका अर्गानिक कृषि उपज युरोप निर्यात हुन थालेका छन्। अन्तर्राष्ट्रिय बजारमा प्रवेश पाएसँगै स्थानीय कृषकहरूमा उत्साह थपिएको छ।
आर्थिक वर्ष २०८१/८२ मा मात्र कर्णालीबाट ३६५ मेट्रिक टन अदुवा, बेसारको धुलो र अन्य अर्गानिक उत्पादनहरू जर्मनीलगायत युरोपेली मुलुकमा निर्यात गरिएको छ। कर्णाली प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता बखत खड्काका अनुसार ती उत्पादनहरू ‘द अर्गानिक भ्याली’ कम्पनीमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रशोधन र प्रमाणीकरण गरेर पठाइएका हुन्।
खड्काका अनुसार सल्यान, रुकुम पश्चिम र सुर्खेतको पूर्वी भेगमा उत्पादन भएका अदुवा र बेसार छिन्चुस्थित प्रशोधन केन्द्रमा संकलन गरी निर्यात गरिएको हो। साथै, मकैको पिठो, सिमी, दाल, घिउ र सिस्नुको धुलोजस्ता उत्पादन पनि प्रमाणीकरण गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याइएको छ।
'बर्सेनि कर्णालीका उत्पादन निर्यात भइरहेका छन्,' खड्काले भने, 'यसले किसानलाई उचित मूल्य दिलाएको छ भने अर्गानिक खेतीप्रतिको आकर्षण पनि बढेको छ।'
कर्णालीका तीन जिल्लाका करिब २,००० भन्दा बढी कृषक प्रत्यक्षरूपमा यो निर्यात श्रृंखलाबाट लाभान्वित भएका छन्। अर्गानिक प्रमाणीकरणमा आबद्ध भएपछि स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा चिनिएको छ। किसानहरूका अनुसार यसले उनीहरूको आम्दानीमा मात्र होइन, समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ।
चौकुने गाउँपालिकाका कृषक हरि थापा भन्छन्, 'अदुवा र बेसार खेती गर्न सजिलो छ। लागत कम लाग्छ, गोडमेल पनि धेरै गर्नु पर्दैन। अब त निर्यात पनि हुन थालेको छ, मूल्य राम्रो पाइन्छ।'
उत्साहजनक निर्यातको बीचमा पनि केही चुनौतीहरू कायमै छन्। दुर्गम भौगोलिक अवस्थाले गर्दा धेरै किसान अझै बजारसम्म सहज पहुँच बनाउन सकेका छैनन्। उत्पादनलाई मूल्य श्रृंखलामा समावेश गर्न र निष्पक्ष बजार उपलब्ध गराउन प्रदेश सरकारको सक्रिय भूमिका आवश्यक देखिएको छ।
स्थानीय किसानहरूको माग छ:प्रदेश सरकारले पकेट क्षेत्र निर्माण, यातायातको पूर्वाधार सुधार र बजार पहुँच विस्तारमा प्राथमिकता दिनुपर्छ। त्यसो भएमा कर्णालीका अर्गानिक उत्पादनहरूले अन्तर्राष्ट्रिय बजारमा अझ बलियो उपस्थिति बनाउन सक्नेछन्।