पर्यटन बोर्डले गर्‍यो ‘टिकटक’सँग सहकार्य, ७ देशका कन्टेन्ट क्रिएटर नेपालमा

Jhalkonepal

काठमाडौं। नेपालका पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स (युएई), बंगलादेश र श्रीलंकाका उनीहरूलाई नेपाल आमन्त्रण गरिएको बोर्डले जनाएको छ।

नेपाल आएका उनीहरूले यहाँका प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि र पर्यटनका विविध पक्ष समेटिएका भिडियो तथा डिजिटल सामग्री तयार गर्नेछन्।

ती सामग्री टिकटकसहितका सामाजिक सञ्जालमार्फत विश्वभरका दर्शकमाझ प्रस्तुत गरिने छ।

युएई र ट्युनिसियाका तीन जना पोखरा र अन्य काठमाडौँमा सामग्री उत्पादन गरिरहेका छन्। उनीहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालका सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय महत्वका स्थल र उत्पादनसम्बन्धी सामग्री तयार गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले जानकारी दिए।

नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई छोटा भिडियोमार्फत विश्वसमुदायसमक्ष प्रस्तुत गरिने छ।

प्रतिक्रिया