सोलुखुम्बु, साउन ३२
सोलुखुम्बुको खुम्बु पासाङल्हामु
गाउँपालिका–५ स्थित थामे क्षेत्रमा हिमपोखरी फुटेर भीषण बाढी आएको छ ।
बाढीका
कारण थामे गाउँका ७० प्रतिशत घर डुबानमा परेका छन् । कयौँ घर पूरै भत्किएका छन् ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका
प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले टासी लाप्चा क्षेत्रको कुनै एक पोखरी
फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
‘हाम्रो
गाउँपालिकाको माथिल्लो भागमा रहेको तासिलाक्चा जाने बाटोका कुनै पोखरी फुटेको अनुमान
हामीले गरेका छौँ । दूधकोशीको बाढीले मानवीय क्षति भएको जानकारी आएको छैन । तर
केही मानिसहरू नदीको बहावका कारण फसेको खबर पाएका छौँ’, उनले भने, ‘फसिरहेका मानिससँग हामी
सम्पर्कमा छौँ । नदीको बहाव कम भइसकेपछि उनीहरूलाई उद्धार गर्ने योजना छ ।’
भुसालले बाढीलगत्तै काठमाडौंबाट हेलिकप्टर
मगाए पनि खराब मौसमका कारण आउन नसकेको बताउ । ‘डुबानमा परेको बस्तीमा पानीको बहाव
केही कम भएको छ । केही झोलुङ्गे पुल पनि जोखिममा छन् । काठमाडौंबाट हेलिकप्टर
मगाएका थियौँ तर खराब मौसमले समस्या भयो’,
उनले भने, ‘बाढीपछि जिल्ला सदरमुकाबाट पनि सुरक्षाकर्मीको टोली परिचालित
भएको खबर आएको छ । हामी प्रमुख जिल्ला अधिकारीसँग नियमित सम्पर्कमा छौँ ।’